भोजपुर र धनकुटाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गर्दै हाम्रो यात्रा अन्तिम चरणमा आइपुगेको थियो। यसपटकको भोजपुर–धनकुटा यात्राको अन्तिम कार्यक्रमका लागि हामी साँगुरीगढी गाउँपालिका पुगेका थियौँ। साँगुरीगढी गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पालिकाको सभाहलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
साँगुरीगढी गाउँपालिकाको आयोजना तथा यसै पालिकाअन्तर्गत पर्ने गोलखाडी माध्यमिक विद्यालयका प्रधानाध्यापक खेलबहादुर लिम्बू सर र शिक्षक चन्द्र बराल सरको विशेष पहलमा कार्यक्रम सञ्चालन हुँदै थियो। कार्यक्रममा गाउँपालिका अध्यक्षज्यू, शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरू, पूर्व एआईजीपी तथा सीताराम पदमकुमारी फाउन्डेसनका संस्थापक भीम ढकाल सर, ९ वटै विद्यालयबाट आउनुभएका प्रधानाध्यापकज्यूहरू, शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति थियो। त्यस दिन गाउँपालिका अध्यक्षज्यू पार्टीको अधिवेशनका कारण निकै व्यस्त हुनुहुन्थ्यो। यति व्यस्तताका बाबजुद पनि उहाँ कार्यक्रममा उपस्थित मात्र हुनुभएन, सुरुदेखि अन्त्यसम्मै सहभागी हुनुभयो। उहाँको यो आत्मीयता र विद्यार्थीप्रतिको चासोले हामीलाई निकै खुसी बनायो र उहाँप्रति आभारी भयौँ।
अनुभव, प्रेरणा र विद्यार्थीका आवाज
हामीसँगै यस चार–पाँच दिनको यात्रामा निरन्तर रहनुभएका भीम ढकाल सर सोही दिन काठमाडौं फर्कनुपर्ने भएकाले कार्यक्रमको औपचारिक सुरुवातपछि नै उहाँले आफ्ना केही अनुभव र विचारहरू राख्नुभयो। त्यसपछि गाउँपालिकाले उहाँलाई मायाको चिनोसहित सम्मान गर्दै बिदाइ गर्यो। उहाँ आफ्नो आगामी यात्राका लागि काठमाडौं फर्कनुभयो।
कार्यक्रममा विद्यार्थीहरूलाई घुन्सा फाउन्डेसनमार्फत एम्बिसन गुरु एपमा उपलब्ध निःशुल्क अनलाइन कक्षाहरूबारे जानकारी प्रदान गरियो। त्यसपछि याङ्जोम शेर्पा म्यामले प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो। उहाँले आफ्ना जीवनका संघर्ष, अनुभव र यात्राका कथाहरू सुनाउँदै विद्यार्थीहरूलाई सपना देख्न, लक्ष्य निर्धारण गर्न र निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो।
सत्रपछि विद्यार्थीहरूले आफ्ना भनाइ र प्रतिक्रिया राखे। उनीहरूका कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्षज्यूले अत्यन्तै आत्मीयताका साथ हाम्रो टोलीलाई धन्यवाद दिनुभयो। याङ्जोम म्यामको जीवनकथासँग आफूले पनि आफ्ना अनुभवहरू जोडेर हेरेको र उहाँका कुराहरू सुन्दा आफ्ना आँखा रसाएको बताउनुभयो। उहाँका अनुसार यो कार्यक्रम विद्यार्थीहरूका लागि मात्र नभई आफू स्वयंका लागि पनि उत्तिकै प्रेरणादायी बनेको थियो।
अध्यक्षज्यूको यस्तो प्रतिक्रिया र आत्मीयताले हाम्रो यात्राको अन्तिम कार्यक्रमलाई अझ विशेष बनायो। कार्यक्रमको समापनसँगै गाउँपालिकाले हामीलाई पनि मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्यो।
यसरी साँगुरीगढीका विद्यार्थीहरूसँगका प्रेरणादायी क्षण, स्थानीय जनप्रतिनिधि तथा शिक्षकहरूको आत्मीयता र विभिन्न स्थानमा पाएको माया र सम्मानका मिठा सम्झनाहरू बोकेर हामी विराटनगर हुँदै काठमाडौं फर्कियौँ। यससँगै हाम्रो भोजपुर–धनकुटा शैक्षिक तथा प्रेरणादायी यात्रा सम्पन्न भयो।
अर्को शृङ्खलामा — रुपन्देहीका विद्यार्थीहरूसँगको प्रेरणादायी भेटघाटका अनुभवहरू लिएर पुनः उपस्थित हुनेछौँ।





