छ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता
कार्यक्रममा पौवादुङमा गाउँपालिकाअन्तर्गतका छवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सहभागी विद्यालयहरू:
राधाकृष्ण माध्यमिक विद्यालय
पञ्चकन्या माध्यमिक विद्यालय
तिवारी भञ्ज्याङ माध्यमिक विद्यालय
मानेडाँडा माध्यमिक विद्यालय
सानो दुम्मा माध्यमिक विद्यालय
सूर्योदय माध्यमिक विद्यालय
कार्यक्रममा गाउँपालिका अध्यक्ष किरण राई, शिक्षा शाखाका अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमसँगै प्रेरणादायी सत्र
अन्य स्थानमा अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई यसपटक राष्ट्रिय गान र स्वागत मन्तव्यसहित औपचारिक रूपमा अगाडि बढाइएको थियो। त्यसपछि विद्यार्थीहरूलाई घुन्सा फाउन्डेसनले Ambition Guru एपमार्फत उपलब्ध गराउँदै आएको निःशुल्क अनलाइन कक्षाबारे जानकारी दिइयो। लगत्तै, घुन्सा फाउन्डेसनकी संस्थापक याङ्जोम शेर्पा म्यामले आफ्नो प्रेरणादायी सत्रमार्फत विद्यार्थीहरूलाई जीवनमा स्पष्ट लक्ष्य राख्न, अभिभावकको त्याग बुझ्न, शिक्षकहरूको सम्मान गर्न र आफ्नो भविष्य निर्माणका लागि मेहनत गर्न प्रेरित गर्नुभयो। सत्रपछि विद्यार्थीहरूसँग उनीहरूको प्रतिक्रिया र अनुभव साटासाट गरियो। त्यसै क्रममा सीताराम पदमकुमारी फाउन्डेसनका संस्थापक तथा नेपाल प्रहरीका पूर्व एआईजीपी भीम ढकाल सरले आफ्ना जीवनका अनुभवहरू साझा गर्नुभयो।
गाउँपालिकाको आत्मीय सम्मान
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले कार्यक्रमप्रति आफ्नो सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभयो। विद्यार्थीहरूको शैक्षिक विकास र भविष्य निर्माणमा यस्ता पहलले पुर्याउन सक्ने योगदानप्रति उहाँलगायत उपस्थित व्यक्तित्वहरू प्रभावित हुनुभयो। कार्यक्रमपछि अध्यक्ष राईले हाम्रो टोलीलाई आफ्नो कार्यालयमा आमन्त्रण गरी भोजपुरको पहिचानसँग जोडिएको प्रसिद्ध खुकुरी र खादा प्रदान गरेर सम्मान गर्नुभयो। उहाँहरूको यो आत्मीय स्वागत र सम्मानले हाम्रो टोलीलाई थप उत्साहित बनायो। कार्यक्रमपश्चात् अध्यक्षज्यूले हामीलाई त्यहाँस्थित पोखरीको भ्रमण गराउनुभयो। यसरी भोजपुर यात्राको पहिलो दिनका दुवै सत्र सम्पन्न गर्दै हाम्रो टोली रात बिताउन प्याउलीतर्फ प्रस्थान गर्यो। दुई फरक गाउँपालिकाका विद्यार्थीहरूसँग भेटघाट, स्थानीय तहको सहकार्य र आत्मीय स्वागतले पहिलो दिनलाई विशेष बनायो। भोजपुर यात्राको दोस्रो दिन हामी भाम्राङमा अर्को कार्यक्रम लिएर अघि बढ्ने तयारीमा थियौँ।
भोजपुर यात्राको दोस्रो दिन — भाम्राङमा विद्यार्थीहरूसँगको भेटघाटबारे अर्को शृङ्खलामा।





