घुन्सा फाउन्डेसन र सीताराम पदमकुमारी फाउन्डेसनको सहकार्य तथा भोजपुर नगरपालिकाको आयोजनामा भोजपुर नगरपालिकाका ९ वटा विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरियो। यसका लागि विद्यार्थीहरू भोजपुर नगरपालिकाको सभाहलमा भेला भएका थिए।
कार्यक्रममा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश आले सर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा अधिकृतलगायत शिक्षा शाखाका कर्मचारीहरू, पूर्व एआईजीपी तथा सीताराम पदमकुमारी फाउन्डेसनका संस्थापक भीम ढकाल सर, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, शिक्षकहरू तथा अन्य अतिथिहरूको उपस्थिति थियो।
प्रेरणा र मार्गदर्शनका साथ कार्यक्रमको सुरुवात
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूले स्वागत मन्तव्य राख्नुभयो। त्यसपछि विद्यार्थीहरूलाई घुन्सा फाउन्डेसनमार्फत एम्बिसन गुरु एपमा उपलब्ध निःशुल्क अनलाइन कक्षाहरूबारे जानकारी प्रदान गरियो।
त्यसपछि भीम ढकाल सरले आफ्ना जीवनका अनुभवहरू सुनाउँदै विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गर्नुभयो। उहाँका अनुभवहरूले विद्यार्थीहरूलाई जीवनमा लक्ष्य निर्धारण गर्न र त्यसतर्फ अघि बढ्न हौसला प्रदान गर्यो।
कार्यक्रमकी मुख्य वक्ता याङ्जोम शेर्पा म्यामले प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो। आफ्ना जीवनका अनुभवहरू र विचारहरू प्रस्तुत गर्दै उहाँले विद्यार्थीहरूलाई अभिभावकको त्याग र माया बुझ्न, शिक्षकको सम्मान गर्न, सकारात्मक सोच राख्न तथा आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो।
विद्यार्थीहरूको प्रतिक्रिया र कार्यक्रमको समापन
प्रेरणादायी सत्रपछि विद्यार्थीहरूबाट कार्यक्रमबारे प्रतिक्रिया लिइयो। विद्यार्थीहरूले आफ्ना अनुभव र सिकाइहरू साझा गरे। त्यसपछि भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश आले सरले आफ्नो मन्तव्य राख्नुभएसँगै कार्यक्रम औपचारिक रूपमा समापन भयो। कार्यक्रमपछि नगर प्रमुखज्यूले हामीलाई आफ्नो कार्यकक्षमा आमन्त्रण गर्नुभयो। उहाँसँग मिठो चियागफ गर्दै केही समय बिताउने अवसर मिल्यो। सोही क्रममा उहाँले हामीलाई भोजपुरको प्रसिद्ध खुकुरी र रुद्राक्षको माला मायाको चिनोस्वरूप प्रदान गर्दै आत्मीयताका साथ बिदाइ गर्नुभयो।
यसरी भोजपुर नगरपालिकाका विद्यार्थीहरूसँगको प्रेरणादायी भेटघाट र आत्मीय आतिथ्यताका सम्झनाहरू बोकेर हामी रात बिताउन हिलेतर्फ लाग्यौँ।
भोजपुर यात्राको अर्को शृङ्खलामा — एकै दिनमा पाख्रीबास, हिले र धनकुटाका ३ ठाउँमा ४ वटा विद्यालयका विद्यार्थीहरूसँग बिताएका प्रेरणादायी क्षणहरू लिएर पुनः उपस्थित हुनेछौँ।





