भोजपुर जिल्लाका अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका र भोजपुर नगरपालिकामा कार्यक्रम सम्पन्न गरी हामी अब भोजपुरलाई बिदाइ गर्दै यात्राको चौथो दिनमा प्रवेश गरेका थियौँ। यस दिनको हाम्रो यात्रा केही व्यस्त हुनेवाला थियो। एकै दिनमा तीन फरक स्थानका विद्यालयमा पुगेर कक्षा १० का विद्यार्थीहरूसँग भेटघाट गर्ने हाम्रो योजना थियो।
पाख्रिबासमा दिनको पहिलो कार्यक्रम
चौथो दिन बिहान १० बजे हामी दिनको पहिलो कार्यक्रमका लागि पाख्रिबास पुग्यौँ। पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरुङ सरको आयोजनामा दुईवटा विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो।
अन्य स्थानमा जस्तै यहाँ पनि विद्यार्थीहरूलाई घुन्सा फाउन्डेसनमार्फत एम्बिसन गुरु एपमा उपलब्ध निःशुल्क अनलाइन कक्षाहरूबारे जानकारी प्रदान गरियो। त्यसपछि याङ्जोम शेर्पा म्यामले आफ्नो जीवनका अनुभव र प्रेरणादायी विचारहरू प्रस्तुत गर्दै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन र निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो। कार्यक्रमको अन्त्यमा भीम ढकाल सर र नगर प्रमुख ज्ञानबहादुर गुरुङ सरले मन्तव्य राख्नुभयो। दिनमा अन्य दुईवटा कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने भएकाले यसपटक हामीले कार्यक्रमलाई तुलनात्मक रूपमा छिट्टै समापन गर्यौँ। त्यसपछि दिनको दोस्रो कार्यक्रमस्थल हिलेतर्फ लाग्यौँ। करिब आधा घण्टाको यात्रापछि हामी हिले पुग्यौँ।
हिले माध्यमिक विद्यालयमा विशेष भेटघाट
हिले माध्यमिक विद्यालयमा हुने कार्यक्रम हाम्रो पूर्वनिर्धारित तालिकामा थिएन। अघिल्लो दिन होटल मकालु भ्युमा बस्ने क्रममा होटलका सञ्चालक बुवाले विद्यार्थीहरूका लागि एउटा कार्यक्रम गरिदिन आग्रह गर्नुभएको थियो। उहाँको आग्रह र विद्यार्थीहरूसम्म प्रेरणाको सन्देश पुर्याउने उद्देश्यलाई ध्यानमा राख्दै याङ्जोम शेर्पा म्यामले आफ्नो व्यस्त तालिकाका बाबजुद कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभयो।
पहिलो कार्यक्रम केही ढिलो सुरु भएकाले हिले माध्यमिक विद्यालयमा कार्यक्रम सुरु गर्दा दिउँसोको १ बजिसकेको थियो। यहाँ पनि कक्षा १० का विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षासम्बन्धी जानकारी प्रदान गरियो भने याङ्जोम शेर्पा म्यामले प्रेरणादायी सत्र सञ्चालन गर्नुभयो। भीम ढकाल सरले पनि आफ्ना अनुभवहरू सुनाउँदै विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुभयो। कार्यक्रम सम्पन्न भएपछि हामी दिनको तेस्रो गन्तव्यतर्फ लाग्यौँ।
भाषा माध्यमिक विद्यालयमा प्रतीक्षाको मिठो प्रतिफल
हिलेबाट करिब एक घण्टाको यात्रा गरेपछि हामी दिउँसो ४ बजे भासा माध्यमिक विद्यालय पुग्यौँ। धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनालज्यूको आग्रहमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो। हामी पुग्दा विद्यार्थीहरू हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। अघिल्ला कार्यक्रम केही ढिलो हुँदा निर्धारित समयभन्दा केही ढिलो गरी यहाँ पुग्नुपरेको थियो। यहाँका केही विद्यार्थीहरूको घर विद्यालयबाट करिब दुई घण्टाको पैदल दूरीमा रहेछ। कार्यक्रम सुरु हुनै ढिलो भइसकेकाले समापनपछि घर फर्किंदा रात पर्ने अवस्था थियो। यस्तो परिस्थितिमा पनि विद्यार्थीहरू उत्सुकतापूर्वक हाम्रो प्रतीक्षामा रहनुभएको देख्दा हामीलाई उहाँहरूप्रति अझ बढी आत्मीयता महसुस भयो।
त्यसैले हामीले कार्यक्रमलाई सकेसम्म छोटो र प्रभावकारी बनाउने प्रयास गर्यौँ। निःशुल्क अनलाइन कक्षाबारे जानकारी प्रदान गरेपछि याङ्जोम शेर्पा म्यामले विद्यार्थीहरूसँग आफ्ना प्रेरणादायी अनुभव र विचारहरू साझा गर्नुभयो। सत्रको अन्त्यमा विद्यार्थीहरूले याङ्जोम म्यामका कुरा सुनेपछि आफूहरूले गरेको प्रतीक्षा साँच्चिकै सार्थक भएको प्रतिक्रिया दिए। उहाँहरूको त्यो प्रतिक्रियाले दिनभरको दौडधुप र थकानबीच पनि हामीलाई थप सन्तुष्टि दियो।
तीन कार्यक्रम, अनेकौँ सम्झना
यसरी चौथो दिन एकै दिनमा पाख्रिबास, हिले र भासाका तीन विद्यालयमा कार्यक्रम सम्पन्न गर्दै हामीले विद्यार्थीहरूसँग प्रेरणा र अवसरका कुरा साटासाट गर्यौँ। निरन्तरको यात्रा र व्यस्तताले शरीर थाकेको थियो, तर विद्यार्थीहरूको उत्साह, प्रतीक्षा र सकारात्मक प्रतिक्रियाले मन भने उत्साहित थियो।
दिनभरिका कार्यक्रम सम्पन्न गरेपछि हामी धनकुटालाई बिदाइ गर्दै भोलिपल्टको कार्यक्रमका लागि भेडेटारतर्फ लाग्यौँ।
भोजपुर यात्राको अर्को शृङ्खलामा — साँगुरीगढी गाउँपालिकाअन्तर्गतका विद्यार्थीहरूसँगको प्रेरणादायी भेटघाट र यात्राका थप अनुभवहरू लिएर पुनः उपस्थित हुनेछौँ।





